झलनाथले दिए एमालेमै मिल्न चाहेको अर्काे बलियो प्रमाण

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/jhalanath-khanal-1-1.png 759w” sizes=”(max-width: 496px) 100vw, 496px” />

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पाँचदलीय सत्तारुढ गठबन्धनसँग सन्तुष्ट छैनन् ।

एमसीसी पास गर्ने प्रकरणमा गठबन्धनसँग नराम्ररी रिसाएका खनाल स्थानीय तहको चुनावी परिणामपछि त झन रिसले आगो भए ।

गठबन्धनले कांग्रेस र माओवादीलाई मात्रै फाइदा भएको र नेकपा एसलाई धोका दिइएको उनको आरोप छ ।

कतिसम्म भने उनले अब वाम–लोकतान्त्रिक गठबन्धन अगाडि बढ्न नसक्ने सार्वजनिक टिप्पणी पनि गरेका छन् । त्यति मात्रै हैन मन्त्रिपरिषद् हेरफेर गर्ने नेकपा एसको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले रोकिदिएपछि त झन खनालको रिसको सीमा नै छैन ।

यो धरतीमा मन्त्रि फिर्ता बोलाएर नयाँ पठाउने नेकपा एसको निर्णय रोक्ने कुनै शक्ति नरहेको उनको भनाइ छ ।

गठबन्धनसँग रिसाएका खनाल एमालेसँग मिल्नुपर्ने पक्षमा रहेको उनका अभिव्यक्ति र व्यवहारले देखाइरहेको छ । उपचारका लागि दिल्ली जानअघि पनि खनालले एमाले पार्टीलाई विभाजनबाट जोगाउन भन्दै वक्तव्य जारी गरेका थिए । त्यतिबेला एमाले फुटेको थिएन ।

तर पछि एमाले विभाजन भयो । माधवकुमार नेपाल नेकपा एसको अध्यक्ष भए भने खनाल सम्मानित नेता । तर खनाल–नेपाल सम्बन्धमा पनि अहिले चिसोपना आएको छ ।

एमालेसँग मिल्ने पक्षमा रहेका खनालको गृहजिल्ला इलाममा जिल्ला समन्वय समितिमा नेकपा एस र एमालेको गठबन्धन भएको छ । यो गठबन्धन निर्माणमा खनाले विशेष भूमिका निर्वाह गरेका छन् ।

जिल्ला समन्वय समितिमा एमाले र नेकपा एकीकृत समाजवादीले संयुक्त उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसले एकल उम्मेदवारी दिएको छ ।

एमालेले जिसस प्रमुख र ५ सदस्य लिएको छ भने नेकपा एकीकृत समाजवादीले उपप्रमुख र दुई सदस्य लिएको छ । नेपाली कांग्रेसले भने जिससका ९ मध्ये ७ पदमा उम्मेदवारी दिएको छ ।

जिसस प्रमुखमा एमालेका जयप्रकाश राईले र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका चित्रकला बराइलीले उम्मेदवारी दिएका छन् ।

कांग्रेसबाट जिसस प्रमुखमा विमल वैद्य र उपप्रमुखमा कमला अधिकारी बरालले उम्मेदवारी दिएका छन् ।

१० स्थानीय तह रहेको इलाममा जिसस निर्वाचनका लागि प्रमुख र उपप्रमुख गरी २० जना मतदाता छन् । जसमा नेकपा एमालेका १०, नेपाली कांग्रेसका ७, नेकपा एकीकृत समाजवादीका २ र जसपाको एक जना मतदाता छन् ।

यसअघि इलामको सूर्योदय नगरपालिकाको कार्यपालिका निर्वाचनमा पनि एमाले र नेकपा एसको गठबन्धन बनेको थियो ।

कमेन्ट गर्नुहोस्