अस्ट्रेलियाको नयाँ सरकारले बुधबार कीर्तिमानी राख्दै पहिलोपटक मुस्लिम महिलासहित १३ जना महिलालाई मन्त्रीको रूपमा शपथ खुवाएको छ । गभर्नर–जनरल डेभिड हर्लेद्वारा राजधानी क्यानबेरामा आयोजित समारोहमा नयाँ प्रधानमन्त्री एन्थोनी अल्बानिजले मध्य–वामपन्थी लेबर पार्टीको नेतृत्वमा वर्तमान कन्जरभेटिभहरूमाथि चुनावी जित हासिल गर्दै ११ दिनपछि शपथ कार्यक्रम भएको हो ।
“अस्ट्रेलिया जस्तै विविध समावेशी सरकारको नेतृत्व गर्न पाउँदा गर्व लागेको छ,” प्रधानमन्त्री अल्बानिजले ट्विटरमा लेखेका छन् । एनी अलीले अस्ट्रेलियाको पहिलो महिला मुस्लिम मन्त्रीको रूपमा शपथग्रहण गरेकी छन् भने एड हसिक क्याबिनेटमा सेवा गर्ने पहिलो मुस्लिम बनेका छन् ।
लिन्डा बर्नी पहिलो आदिवासी महिला र आदिवासी मामिला मन्त्रीको रूपमा सेवा गर्ने दोस्रो मन्त्री बन्न सफल भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । अल्बानिज र विदेशमन्त्री पेनी वोङले टोकियोमा भएको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानी प्रधानमन्त्री फुमियो किशिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै भाग लिन गत हप्ताको सुरुमा नै शपथ लिएका थिए ।
नयाँ सरकारमा नियुक्त भएका ३० मन्त्रीमध्ये झन्डै आधा महिला छन् । मुख्य मन्त्रिपरिषद्को भूमिकामा पनि २३ मध्ये १० स्थानमा महिला मन्त्री नियुक्त गरिएको अस्ट्रेलियाले रेकर्ड राखेको छ ।
गत महिनाको निर्वाचनको केही मत गणना हुन बाँकी छ । तर, लेबर पार्टीले १५० सिट भएको सदनमा स्पष्ट बहुमत ल्याउन पर्याप्त सिटहरू प्राप्त गरेको छ ।