
काठमाडौं । प्रभु बैंकको संस्थापक सेयर प्रतिकित्ता १४५ रुपैयाँमा किनबेच भएको छ । शुक्रबारको बजारमा बैंकको कूल ८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सो रुपैयाँमा खरिद बिक्री भएको हो ।
२२३ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी प्रभु बैंकको संस्थापक सेयर किनबेच भएको छ । रकमको आधारमा मात्र नभई कित्ताको आधारमा पनि बैंकको सबैभन्दा बढी खरिदबिक्री भएका छन् ।
बैंकको एकैदिन कूल १९ करोड १८ लाख ९७ हजार ९५६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये १ करोड ५८ लाख २२ हजार ९५६ रुपैयाँ बराबरको साधारण सेयर र बाँकी रहेको १७ करोड ६० लाख ७५ हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ ।
त्यस्तै, बैंकको कूल ९ लाख ४२ हजार ७७ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसमध्ये ८ लाख ८० हजार ३७५ कित्ता संस्थापक सेयर रहेको छ भने ६१ हजार ७०२ कित्ता साधारण सेयर रहेको छ ।
नेप्सेको फ्लोरसिटअनुसार ब्रोकर नं. ५८ (नासा सेक्युरिटिज) र ब्रोकर नं. ४ (ओपल सेक्युरिटज) मार्फत बैंकको संस्थापक सेयर खरिद बिक्री भएको देखिन्छ ।
संस्थापक सेयरको मूल्य १४५ रुपैयाँ रहेको बैंकको साधारण सेयरको मूल्य प्रतिकित्ता २१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन बिहीबारको तुलनामा प्रतिकित्ता २ रुपैयाँले घटी हो ।