१६ वटा स्थानीय तह रहेको बाराका १५ स्थानीय तहको मतगणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले चार, कांग्रेसले चार, लोसपाले तीन, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको छ ।
कलैया उपमहानगरपालिकामा एमालेका विनोदप्रसाद साह २४ हजार १७४ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् भने निजगढ नगरपालिकामा एमालेका सुरथ पुरीले ९ हजार ४७५ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् । परवानीपुर गाउँपालिकामा एमालेका रामक्षत्रीप्रसाद कुर्मीले २ हजार ९१७ र प्रसौनी गाउँपालिका एमालेकै विनोद प्रसाद जैसवालले ४ हजार ४८८ मत प्राप्त गरी गाउँपालिकाको प्रमुखमा विजयी भएका हुन् ।
२०७४ को निर्वाचनमा दुई पालिकामा मात्र जित हासिल गरेको एमालेले बारामा हालसम्ममा चार पालिकामा जित हासिल गरेको हो । यसअघि एमालेले जित हासिल गरेको कोल्हवी र जितपुरसिमरा उपमहानगरपालिका दुबै पालिका भने गुमाएको छ ।
कोल्हवी नगरपालिकामा नेपाली कांग्रेसका रामप्रसाद चौधरीले ९ हजार १०५ मत प्राप्त गरी विजयी भएका छन् भने कांग्रसकै राजेशप्रसाद यादवले ५ हजार ३५१ मत ल्याई सुवर्ण गाउँपालिकामा विजयी भएका छन् । महागढीमाई नगरपालिकाको मेयरमा कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) दोहोरिएका छन् ।
निवर्तमान मेयरसमेत रहेका यादवले ८ हजार ६७० मत ल्याएर विजयी भएका छन् । आदर्श कोत्वाल गाउँपालिकाकमा समेत कांग्रेसले जित हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जवाहर साह विजयी भएका छन् । उनले ४ हजार ८७ मत प्राप्त गरी विजयी भएका हुन् । २०७४ को निर्वाचनमा ६ पालिकामा जित हासिल गरेको कांग्रेसले बारामा हालसम्ममा चार पालिकामा जित हासिल गरेको हो ।
यसअघि कांग्रेसले जित हासिल गरेको कलैया उपमहानगरपालिकासहित निजगढ, सिम्रौनगढ, बारागढी र करैयामाई भने गुमाएको छ । जनता समाजवादी पार्टी, नेपालले दुई गाउँपालिकामा जित हात पारेको छ । जसपाले देवताल गाउँपालिकाको अध्यक्षमा उदयप्रसाद यादवले ४ हजार १७६ मत र करैयामाई गाउँपालिकामा शम्भु प्रसाद यादवले ५ हजार ५९८ मतले विजयी हासिल गरेका छन ।
यसअघि करैयामाईमा कांग्रेसले र देवतालमा राष्ट्रिय जनता पार्टी, नेपालले जित हासिल गरेको थियो । विश्रामपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका जुल्फकार अली भुटोले ४ हजार ३१७ मत र सिम्रौनगढ नगरपालिकामा किशाेरीप्रसाद कलवारले ११ हजार १३७ मतसहित विजयी भएका छन् ।
बारागढी गाउँपालिकामा समेत लोसपाले चुनाव जितेको छ । पालिका अध्यक्षमा लोसपाका अशोककुमार जयसवालले ५ हजार ४२६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका छन् । यसअघि २०७४ को निर्वाचनमा सिम्रौनगढ र बारागढीमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो ।
जितपुरसिमरा उपमहानगरपालिकामा माओवादी केन्द्रका राजन पौडेलले १८ हजार ७४३ मतसहित जित हात पारेका छन् । उनको जितसँगै बारामा माओवादी केन्द्रले खाता खोलेको हाे । यसअघिको निर्वाचनमा माओवादी केन्द्रले कुनै पनि पालिकाको प्रमुखमा जित हासिल गर्न सकेको थिएन ।
बारामा विवेकशील साझा पार्टीले पनि खाता खोलेको छ । फेटा गाउँपालिकामा विवेकशीलका रुस्तम अन्सारीले ४ हजार ४८५ प्राप्त गरी विजयी भएका हुन् । अन्सारीलाई कांग्रेसले टिकट नदिएपछि उनी विवेकशील प्रवेश गरी निर्वाचनमा हाेमिएका थिए । यसअघि फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम, नेपालले जित हात पारेको थियो । जिल्लामा हालसम्म पनि पचरौता नगरपालिकाको भने मतगणना भइरहेको निर्वाचित भएको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।
जिल्लाको १६ स्थानीय तहमध्ये हालसम्म १५ स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ भने पचरौता नगरपालिकामा मतगणना जारी छ । ३० वैशाखमा पचरौताको २ र ४ नम्बर वडाको निर्वाचन विवादको कारण स्थगित भएपछि ढिलाइ भएको हो । ४ जेठमा उक्त दुई वडामा पुनः निर्वाचन गरिएपछि सुरु भएको मतगणनाको अन्तिम परिणाम आउन बाँकी छ ।