कांग्रेस गण्डकीमा ठूलो पार्टी बन्न सफल

80
0
Share:

अघिल्लो निर्वाचनको तुलनामा क्षति बेहोरे पनि गण्डकीमा कांग्रेस नै ठूलो पार्टी बन्न सफल भएको छ । २०७४ को निर्वाचनमा ४४ पालिका जितेर ठूलो बनेको कांग्रेस यसपटक भने ३६ मा झरेर पनि ठूलो बन्न सकेको हो ।

गण्डकीका ८५ स्थानीय तहमध्ये सोमबार बिहानसम्म ८४ पालिकाको नतिजा सार्वजनिक भएको छ । प्रदेशको एकमात्र महानगर पोखरामा भने मतगणना जारी छ । सार्वजनिक नतिजाअनुसार कांग्रेसले २१ अध्यक्ष र १५ मेयरमा जित हासिल गरेको छ । यसैगरी २० उपाध्यक्ष र १२ उपमेयर जितेको छ ।

यसैगरी एमालेले ३५ पालिका जित्दै दोस्रो पोजिसनमा आएको छ । यसअघिको निर्वाचनमा एमालेले ३४ पालिका जितेको थियो । अहिले २७ अध्यक्ष र ८ मेयर, २५ उपाध्यक्ष र ८ उपमेयर जितेको छ । यसअघि जम्मा ५ पालिका जितेको माओवादी केन्द्रले अहिले बढाएर ११ पुर्‍याएको छ । उसले ९ अध्यक्ष र २ मेयर, १२ उपाध्यक्ष र ७ उपमेयरमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले एक प्रमुख, एक अध्यक्ष र एक उपाध्यक्ष जित्न सफल भएको छ । प्रदेशमा एक महानगर, २६ नगरपालिका र ५८ गाउँपालिका छन् ।

अधिकांश पालिकामा गठबन्धन नभई आफ्नै हिसाबले चुनावमा जाँदा समस्या भएको कांग्रेस कार्यकर्ता बताउँछन् । ‘कार्यकर्तामा व्यापक असन्तुष्टि देखियो । मतदाताले पनि विकल्प खोजेजस्तो भयो, पोखराका एक कार्यकर्ताले भने । केही स्थानमा बागी उम्मेदवार कायम रहनु र असन्तुष्ट कार्यकर्तालाई सम्झाउन नसक्दा पनि समस्या भएको कांग्रेसीजन बताउँछन् । कांग्रेस प्रदेश सभापति शुक्रराज शर्मा समयमै गठबन्धनको निर्णय हुन नसक्नु, गठबन्धनको विरोध गर्न नसकिएको र पूर्ण कार्यान्वयन पनि गर्न नसक्दा रिजल्ट अनुकुल नआएको बताउँछन् ।

अन्तिम समयमा उम्मेदवार फेरिनु, कतै उम्मेदवार चयनमै समस्या र अन्तर्घातका कारण पनि नतिजामा कमी आएको उनको भनाइ छ । ‘समयमै गठबन्धन नहुँदा कमजोरी जस्तो देखियो, उनले भने, ‘गोरखा, पूर्वी नवलपरासी, लमजुङ, स्याङजा जस्ता जिल्लामा उम्मेदवार चयनका कारण पनि नतिजामा कमी आयो ।’ जिल्ला र प्रदेशले गरेको उम्मेदवार चयनलाई पार्टी केन्द्रले हस्तक्षेप गर्दा समस्या भएको उनले बताए ।

स्याङजामा एमाले र कांग्रेसले २०७४ र अहिले बराबर ६ र ५ पालिका जितेको छ । तर, पहिला एमालेले जितेका पुतलीबजार र गल्याङ नगरपालिकामा यसपटक कांग्रेसले जितेको छ भने यसअघि कांग्रेसले जितेको वालिङ नगरपालिका एमालेले हात पारेको छ । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा कांग्रेसले ५ र एमालेले ४ पालिका जितेका छन् । पूर्वी नवलपरासीका ८ मध्ये पहिला ६ पालिका जितेको कांग्रेस अहिले २ वटामा खुम्चिएको छ । कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला, प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको जिल्ला भए पनि कांग्रेस कमजोर देखिएको हो ।

कमेन्ट गर्नुहोस्