भारत सरकारले शनिबार पेट्रोल र डिजेलको मूल्य घटाएको घोषणा गरेको छ । केन्द्र सरकारले पेट्रोल र डिजेलमा अन्तःशुल्क घटाएको छ । सरकारले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ अन्तःशुल्क घटाएको हो। यससँगै वित्तमन्त्री निर्मला सीतारमणले प्रधानमन्त्री उज्ज्वला ग्यास योजनाका लाभार्थीहरूलाई २०० रुपैयाँ अनुदान दिने घोषणा पनि गरिन् ।
भारत सरकारको यो निर्णयले भारतका आम जनतालाई ठूलो राहत दिएको छ । मोदी सरकारको यो निर्णयको असर पाकिस्तानमा पनि परेको छ ।पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले भारत सरकारको यो निर्णयको प्रशंसा गरेका छन् । उनले ट्वीट गर्दै मोदी सरकारको तारिफ गरेका छन् ।
क्वाडको हिस्सा भएर पनि भारत अमेरिकाको दबाबमा झुकेन र रुसबाट सस्तो तेल किनेर आफ्ना जनतालाई राहत दिएको छ । हाम्रो सरकार स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेर यही हासिल गर्न काम गरिरहेको थियो । उनले लेखेका छन्, हाम्रो सरकारको लागि पाकिस्तानको हित सबैभन्दा माथि थियो तर दुर्भाग्यवश यहाँ मीर जाफर र मीर सादिक बाहिरी दबाबमा षड्यन्त्रका मोहोरा बने र अहिले उनीहरू अर्थतन्त्रलाई घाटामा लैजान लागेका छन् ।
इमरान खानले भारतको प्रशंसा गरेको यो पहिलो पटक भने होइन। यसअघि एक र्यालीमा उनले छिमेकी मुलुकको परराष्ट्र नीति जनताको हितमा भएको बताएका थिए ।
शनिबार साँझ भारतकी केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा ६ रुपैयाँ अन्तःशुल्क घटेको घोषणा गरिन् ।
मार्चमा पाँच राज्यको निर्वाचन सकिएपछि पेट्रोल र डिजेलको मूल्य बढ्न थालेपछि पेट्रोलले प्रतिलिटर सय रुपैयाँ नाघेको थियो । बीबीसी