देशभरका म्यादी प्रहरी आज बिदा भएका छन्। शुक्रबारदेखि नै उनीहरुलाई बिदा गर्न थालिएको र शनिबार सबैजना बिदा भइसक्ने प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए। स्थानीय तहको निर्वाचनका लागि एक लाख जना म्यादी भर्ना गरिएको थियो। ४० दिनका लागि भर्ना भएका म्यादी अवधि सकिएसँगै बिदा भएका हुन्।
निर्वाचनमा सबैभन्दा बढी म्यादी खटाइएको थियो। चैत २८ गते देशभरका जिल्ला प्रहरी कार्यालयमा म्यादी भर्ना गरिएको थियो। ४० दिन पूरा भएसँगै उनीहरुको म्याद सकिएको हो। केही स्थानमा मतदान र केही स्थानको मत गणना बाँकी रहे पनि अब अन्य सुरक्षाकर्मी मात्रै खटाइने छ। म्यादी प्रहरी घर फर्किएका छन् भने नेपाली सेना पनि ब्यारेक फर्किएको छ।
४० दिन काम गर्दा म्यादी प्रहरीले जवानसरह सेवा सुविधा पाएका थिए। यसबीचमा ५ जना म्यादी प्रहरीको मृत्यु भएको छ। करिव ५० जना घाइते भएको प्रहरी प्रवक्ता केसीले बताए। चुनावमा खटिने क्रममा म्यादी प्रहरीको ज्यान गएमा परिवारलाई २० लाख रुपैयाँ दिने सरकारले निर्णय गरिसकेको छ।