विष्णु पौडेलको गृहनगर बुटवलमा एमालेको कन्तबिजोग, मेयरमा कांग्रेसका खेलराज विजयी

93
0
Share:

 नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय फराकिलो मतान्तरले विजयी भएका छन् । २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेले यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका भट्टराईले २२ हजार ५९७ मत पाएका छन् ।

नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । पाण्डेयको यो जितसँगै बुटवलको नेतृत्वमा २५ वर्षपछि कांग्रेसले पुनरागमन गरेको छ । बुटवलमा २०५४ सालयताका सबैजसो चुनावमा नेकपा एमालेले जित्दै आएको थियो ।

नेकपा एमालेको विभाजन, राष्ट्रिय राजनीतिमा आएको फेरबदलसँगै बनेको ५ दलीय गठबन्धन र उम्मेदवार पाण्डेय निरन्तर जनताको घरदैलोमा पुग्ने बानी, सरल व्यवहार र व्यक्तिगत लोकप्रियताका कारण बुटवलमा एमालेको २५ वर्षे एकछत्र राज ढलेको विश्लेषण गरिएको छ ।

उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्याल निर्वाचित भएकी छन् । एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई सात हजार ९२२ मतले पराजित गर्दै अर्याल निर्वाचित भएकी हुन् । अर्यालले २४ हजार ९०४ मत पाएर निर्वाचित हुँदा गुरुङले १६ हजार ९८० मत पाएका छन् ।

कमेन्ट गर्नुहोस्