
धनुषाको हंसपुर नगरपालिका २ का वडाध्यक्षका उम्मेदवार परमेश्वर कापडीले एक मत मात्रै पाएका छन् ।
उनले उम्मेदवारी दर्ता गर्दा एक जना प्रस्ताव र एक जना समर्थक लगेका थिए। प्रचारमा पनि केही समर्थक खटिएका थिए। तर, चुनाव हुँदा भने प्रस्तावक र समर्थकको पनि भोट पाएनन्।
हंसपुर वडा नं। २ को वडाध्यक्षमा नेपाली कांग्रेसका जयनारायण कापडी एक हजार १७५ मत पाएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उदयकुमार साहले ५२४ मत पाए।
त्यस्तै, जसपाका शिवचन्द्र यादवले ३०५, नेकपा (एमाले) का सचिनकुमार मण्डलले १२५, नेकपा (माओवादी केन्द्र) का अशोककुमार मिश्रले ९५, जनमत पार्टीका राजाराम यादवले २६, राप्रपाका श्याम सहनीले ६ र नेकपा (एकीकृत समाजवादी) का परमेश्वर कापडीले १ मत पाए।
मैथली अभियानमा संलग्न कापडी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मैथिली विभागका पूर्व विभागीय प्रमुख हुन्। अवकास लिएपछि उनी सामाजिक काममा संलग्न हुँदै आएका छन्।
गाउँको विकासका लागि चुनावमा उम्मेदवार बनेको उनले बताए। आफ्नो गाउँको विकास गर्नुपर्छ भन्ने सोचले स्थानीय चुनावमा होमिएको थिएँ, उनले भने, तर, निर्वाचनमा केही गलत कार्यहरू हुन थालेको देखेपछि म त्यस्तो गर्न सक्दिनँ भनेर मौन बसेँ।
उनले पनि गाउँको विकासका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए। तर, घोषणापत्रले काम नगर्ने रहेछ भन्ने अवगत भएको उनको भनाइ छ।
घोषणापत्र निकालेँ। त्यसलाई बोकेर घरदैलो अभियानमा पनि गएँ। घोषणापत्रका आधारमा मत नदिँदा रहेछन् उनले भने, म जित्नेजस्तो नदेखेपछि घरमै बसेको थिएँ।
आफूले पाएको मतबारे पनि वास्ता नगरेको उनको भनाइ छ। कापडीले भने, “कति मत आयो, मलाई थाहा छैन। त्यो मत पनि मेरो हैन।