
लमजुङ । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज जमिन्द्रमान घलेले पृथ्वी सुब्बा गुरुङ पटक–पटक चुनावमा उठ्दा अरू दललाई “टाउको दुखाइ” किन भएको भन्ने प्रश्न उठाएको छन् ।
लमजुङमा जारी चुनावी अभियानका क्रममा कार्यकर्ताहरूसँग बोल्दै घलेले पृथ्वी सुब्बा गुरुङ जतिपटक चुनाव लडे पनि त्यो एमालेकै आन्तरिक विषय भएको बताए । “पृथ्वी सुब्बा जतिपटक लडे पनि टाउको दुख्नुपर्ने हामीलाई हो, एमालेलाई हो। हामीले गर्वका साथ उहाँलाई अगाडि बढाइरहेका छौँ,” उनले भने, “यसमा अरूलाई किन समस्या?”
उनले पृथ्वी सुब्बा गुरुङ लमजुङका लागि ‘हेभी वेट’ उम्मेदवार भएको दाबी गर्दै लमजुङे जनताको आवाज सुन्ने र त्यसलाई राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा उठाउन सक्ने क्षमता उनीसँग रहेको उल्लेख गरे । अन्य उम्मेदवारको तुलनामा उनी अनुभवी, सक्षम र राष्ट्रले चिनेको नेता भएकाले जिताउन आवश्यक रहेको घलेको भनाइ थियो ।
घलेले लमजुङको समग्र विकास, पूर्वाधार विस्तार तथा जनजीविकासँग जोडिएका मुद्दालाई सशक्त रूपमा अघि बढाउन सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै कार्यकर्तालाई सक्रिय भएर चुनावी अभियानमा जुट्न आग्रह गरे । काम र एजेण्डामा प्रतिस्पर्धा गर्न नसकेपछि विरोधीहरू चरित्रहत्या गर्न लागेको समेत उनले आरोप लगाए ।








