
काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सुरक्षा र व्यवस्थापनका लागि प्रदर्शन गर्नका लागि तीन स्थान तोकेको छ। आइतबार सम्पन्न जिल्ला सुरक्षा समिति काठमाडौँको बैठकले यी स्थानहरूमा मात्र प्रदर्शनको अनुमति दिने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेश अनुसार अब प्रदर्शनका लागि सिफल चौर क्षेत्र, कोटेश्वरको आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रलाई तोकिएको छ। आदेशअनुसार यी स्थानहरू बाहेक अन्यत्र कुनै पनि प्रकारका विरोधका कार्यक्रम – जस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा – गर्न निषेध गरिएको छ।
‘२०८२/०२/१९ गतेदेखि लागु हुने गरी यी स्थानहरू बाहेक अन्यत्र दुई महिनासम्मका लागि विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ,’ आदेशमा स्पष्ट उल्लेख गरिएको छ।
प्रशासनले यसअघि पनि केही स्थानलाई निषेधित क्षेत्रको रूपमा तोकेको थियो, तर यसपटक भने प्रदर्शन गर्ने स्थानहरू तोकेर काठमाडौं जिल्लाको बाँकी भागमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले भने, “प्रशासनले जारी गरेको आदेशमा उल्लेखित स्थानहरूमा मात्र प्रदर्शन गर्न पाइन्छ, अन्यत्र प्रदर्शन गर्न पाइँदैन।”
यस निर्णयको कारण भनेको सुरक्षा चुनौती र व्यापारिक क्षेत्रहरूमा हुने असरलाई ध्यानमा राखेर प्रशासनले आवश्यक कदम चालेको अधिकारीले बताए। उनले भने, “प्रदर्शन गर्दा सुरक्षा व्यवस्थामा समस्या आउन सक्छ र यसले यातायात व्यवस्था र व्यापारमा असर पुर्याउन सक्छ, त्यसैले यो निर्णय गरिएको हो।”
यस आदेशपछि अब कुनै पनि विरोध प्रदर्शन गर्दा प्रशासनसँग अनुमति लिनुपर्ने भएको छ र सुरक्षा व्यवस्था पनि त्यसअनुसार मिलाइने बताइएको छ।








