
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ‘मध्य पहाडी लोकमार्ग’लाई केन्द्रित दोस्रो चरणको मध्य पहाडी जागरण अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बिहान बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकमा अभियानसँगै हालै माओवादी केन्द्रमा एकीकृत भएका समूहहरूको समायोजनबारे पनि निर्णय गरिएको छ । नेसपा (नेपाली समाजवादी पार्टी) का सह–अध्यक्ष गंगानारायण श्रेष्ठ नेतृत्वको समूह र नेपाः राष्ट्रिय पार्टीसँग जेठ १२ गते औपचारिक एकता भएको थियो ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन पौडेलका अनुसार, एकीकृत समूहका नेताहरुलाई पुरानै तहअनुसार जिम्मेवारी दिइने छ। “साबिक पार्टीमा जुन तहमा जिम्मेवारी थियो, त्यसैअनुसार समायोजन गरिने निर्णय भएको छ,” पौडेलले भने ।
कमेन्ट गर्नुहोस्








