काठमाडाैं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नारा राखेको भन्दै कार्यालय प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ ।
वितरण केन्द्रको प्रमुखको कार्यालय रहेको मुल गेटमा राखिएको डिजिटल बोर्डमा सोमबार प्रधानमन्त्रीविरुद्ध अंग्रेजी शब्दमा `केपी चोर देश छोड´ डिस्प्ले भएकाे थियाे ।
त्यही विषयलाई लिएर मंगलबार कार्यालय प्रमुख श्रेष्ठमाथि एक समूहले हातपात गरेको हो । कार्यालय प्रमुख श्रेष्ठमाथि कुटपिट गर्ने र कार्यालय तोडफोड गर्नेहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
‘देशको सम्माननीय प्रधानमन्त्रीलाई अवैध किसिमको गालीगलोज/अपशब्द अपलोड गरिएको हुँदा देशको गरिमामय पदमा रहनु भएको प्रधानमन्त्रीलाई अपमानजनक सूचना अपडेट गराउनु राज्यको संविधान तथा प्रचलित कानुनको बर्खिलाप हो। यस्तो गैरकानुनी कार्यप्रति नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार घोर भर्त्सना गर्छ,’ केन्द्रले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
यस घटनालाई साइबर अपराधअन्तर्गत कानुनी दायरामा ल्याउन पत्राचार भइरहँदा मंगलबार कार्यालय प्रमुख रामु श्रेष्ठमाथि हातपात भएको केन्द्रले विज्ञप्तिमार्फत् बताएको छ ।







