रवि लामिछानेको थुनछेक बहस सकिएन, फेरी हिरासत पठाइयो

42
0
Share:

काठमान्डौ/सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

 

काठमाडौँ जिल्ला अदालतमा आज पनि लामिछानेको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेतर्फका २ जना र सरकारी वकिल ९ जनाले बहस गरेका थिए ।

 

तर, सबै वकिलको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । मुद्दा हेर्दाहेर्दैमा राखिएपछि लामिछानेलाई फेरी हिरासत पठाइएको छ । अब लामिछानेको मुद्दाको अर्को सुनुवाइ बुधवार मात्रै हुनेछ । भोली मंगलबार सार्वजनिक बिदा भएकाले उनको अर्को सुनुवाइ बुधवार मात्रै हुने भएको हो ।

 

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो ।

 

लामिछानेको हकमा सरकारी वकिलले पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ बिगो मागदाबी गरेको छ । रास्वपा सभापति लामिछानेलाई सुर्यदर्शन सहकारी पोखराको मुद्दामा जिल्ला अदालत कास्कीले यसअघि ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

 

यसअघि लामिछाने सुर्यदर्शन सहकारी मुद्दामा कास्की प्रहरी हिरासतमा ८४ दिन बसेका थिए ।

कमेन्ट गर्नुहोस्