
काठमाडौं । सेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुला भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१ मार्फत यस्तो व्यवस्था खुला गरेको हो ।
बोर्डले शुक्रबार जारी गरेको निर्देशिकामा संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेर गैर आवासीय नेपालीले सेयर बजारमा लगानी गर्न सक्ने व्यवस्था गरेको हो । यसरी स्थापना हुने कम्पनीमा गैर आवासीय लगानीकर्ताले कम्तीमा १० देखि बढीमा ४९ प्रतिशतसम्म गैर आवासीय नेपालीका लागि सेयर निष्कासन गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसरी गैरआवासीय नेपाली सहितको इन्भेस्टमेन्ट कम्पनीको सेयर निष्कासन गर्नुअघि सेयर बोर्डमा दर्ता गर्नुपर्नेछ । बोर्डको स्वीकृतिपछि कम्तीमा चारदेखि बढीमा १५ दिनसम्मका लागि गैर आवासीय नेपालीका लागि आईपीओ खुलाउन सक्नेछन् ।
यसरी आईपीओमार्फत् खरिदबिक्री हुनेसेयर कम्तीमा एक हजार कित्ता कारोबार हुनुपर्ने, गैर आवासीय नेपालीबिच मात्रै कारोबार हुनसक्ने, आईपीओ पाएको एक वर्षसम्म खरिदबिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । हकप्रद सेयरको हक हस्तान्तरण समेत गैर आवासीय नेपालीका बीचमा मात्रै गर्न सक्ने व्यवस्था गरिएको छ ।
कम्पनीले निष्कासन गरेको सेयरमा प्रिमियम थप गरी निष्कासन गर्न सक्ने छैन । सेयरको दरखास्त दिन सकिने न्यूनतम सीमा एक हजार कित्ता र अधिकतम सोको गुणाङ्कमा हुने गरी व्यवस्था कम्पनीले गर्नु पर्नेछ । निष्कासित सेयरमध्ये ५० प्रतिशतभन्दा कमका लागि आवेदन परेमा त्यस्तो निष्कासन प्रक्रिया रद्द गरी सम्बन्धित आवेदकको रकम फुकुवा गर्नु पर्नेछ । ५० प्रतिशतभन्दा बढी र शत प्रतिशतभन्दा कमका लागि आवेदन परी सेयर बाँडफाँट भएमा आवेदन नपरी बाँकी रहन गएको सेयर तत्काल कायम रहेका सेयरधनीले खरिद गर्न चाहेमा खरिद गर्न सक्नेछन् ।








