काठमाडौं- नेपालको अर्थतन्त्र आयातमा निर्भर छ । नेपाल नुनदेखि सुनसम्ममा परनिर्भर छ । अत्यावश्यकदेखि विलासिताका वस्तुमा समेत वर्षेनी अर्बौ रुपैयाँ बाहिरिने गरेको छ ।
दैनिक जीवनमा प्रयोग हुने शृङ्गारका सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ। यस्ता सामग्रीमा नक्कली नङ, परेला, कपालदेखि आँखी भौं समेत भित्रने गरेका छन् । अनुहारमा लगाउने पाउडर क्रिमदेखी नङ पालिसमा समेत आयातकै भर पर्नुपर्ने अवस्था छ ।
भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ।
साढे १६ करोडको गाँजल
आँखाको शृङ्गारमा प्रयोग हुने सामानको आयातका लागिसमेत निकै रकम खर्च भएको छ। चालु आर्थिक वर्षको आठ महिनामा आँखाको मेकअपको लागि १६ करोडभन्दा बढी रकम विदेशिएको छ। यो अवधिमा ३६ हजार ३७६ केजी बराबरको त्यस्ता वस्तु आयात भएका छन्।
जसका लागि १६ करोड ६४ लाख ६८ हजार रुपैयाँ बराबर रकम बाहिरिएको छ। यसबाट राज्यले ९ करोड ३१ लाख २८ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
आँखा सजावटका सामान भारत, चीन, इटाली, कोरिया, लक्जम्वर्ग, अमेरिका, पोल्याण्ड, अर्जेन्टिना, बेल्जियम, डेनमार्क, जर्मनी कोरिया, नेदरल्याण्ड, जापान, नेदरल्याण्ड, पोल्याण्ड, साउदी अरेबिया, थाइल्याण्ड, अमेरिकालगायत देशबाट आयात हुने गरेको विभागले जनाएको छ।
आठ महिनामा ४६ करोडको लिपिस्टिक भित्रियो
विशेषगरी महिलाले प्रयोग गर्ने लिपिस्टिकलगायतका सामग्रीको आयातमा पनि करोडौं रकम बाहिरिएको छ। आठ महिनामा ओठको शृङ्गारका सामग्रीका लागि ४६ करोड ६७ लाख २१ हजार रुपैयाँ बराबरको रकम बाहिरिएको छ।
यो अवधिमा १ लाख ३३ हजार ३५६ केजी बराबरको ओठको मेकअपका लागि चाहिने सामग्री आयात भएको छ । ती सामग्रीको आयात गर्दा सरकारले २४ करोड ९८ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
ओठ सजावटका सामग्री भारत, चीन, अष्ट्रेलिया, क्यानाडा, कंगो, डेनमार्क, फ्रान्स, जर्मनी, ग्रीस, हंगकंग, इजरायल जापान, इटाली, कोरिया, मलेसिया लगायत देशबाट आयात हुने गरेका छन् ।
क्रिम पाउडरमा पनि करोडौँ खर्च
चालु आर्थिक वर्षको आठ महिनामा क्रिम पाउडरको आयातमासमेत करोडौँ रकम बाहिरिएको छ। यो अवधिमा ७० करोड ६७ लाख २६ हजार रुपैयाँको अनुहारमा लगाउने क्रिम आयात भएको विभागको तथ्यांकले देखाएको छ । फागुनसम्म २ लाख ५१ हजार ६१५ क्रिम आयातबाट ३६ करोड ८० लाख ८३ हजार रूपैयाँको राजस्व सङ्कलन भएको छ।
यो अवधिमा १५ करोड २७ लाख ४२ हजार रुपैयाँको पाउडर नेपाल भित्रिएको छ ।
तीन करोडको नङ पालिस
विभागका अनुसार यस अवधिमा १५ हजार २७१ लिटर नङमा लगाउने नङ पालिस अर्थात् ‘नेलपोलिस’ आयात भएको छ । फागुनसम्म ३ करोड ५८ लाख ७ हजार रुपैयाँको नेलपोलिस आयात भएको हो ।
मुख्यगरी त्यस्ता पोलिस चीन, भारत, कोरिया, क्यानडालगायतका मुलुकबाट आयात हुने गरेको पाइएको छ।
कपालको स्याहारमा समेत उस्तै खर्च
आठ महिनामा मात्र नेपालीले झन्डै ६५ करोड रुपैयाँको स्याम्पु आयात गरेका छन् । यस अवधिमा ६४ करोड ७५ लाख २६ हजार रुपैयाँ बराबरको स्याम्पु आयातभएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। करिब १३ लाख ६४ हजार लिटर स्याम्पु आयातमा उक्त रकम विदेशिएको हो ।
स्याम्पुको आयातबाट सरकारले भने रु ३६ करोड ८४ लाख ७१ हजार राजश्व जम्मा गरेको छ।
यसैबीच कपाल रंग्याउनकै लागि प्रयोग हुने सामग्रीको आयातमा ४९ करोड ३५ लाख ७४ हजार बराबरको रकम मुलुक बाहिर गएको छ, भने कपालमा लगाउने क्रिमका लागि रु ३ करोड ८७ लाख २६ हजार बराबरको रकम मुलुक बाहिर गएको छ।
फागुनसम्म १४ करोड २२ लाख ७० हजार रुपैयाँको हेयर कन्डिसनरका नेपाल भित्रिएको छ । ७० करोड ३० लाख ७२ हजार रुपैयाँको कपाल सजावटका अन्य सामग्रीहरू आयात भएका छन् ।
बडीलोसनमा झन्डै ३४ करोड खर्च
विभागको विवरणअनुसार फागुन मसान्तसम्म ३३ करोड ८६ लाख १० हजार रुपैयाँको दुई लाख ८२ हजार ५२ केजी बडी लोसन आयात भएको छ । त्यसबाट सरकारले १७ करोड ५१ लाख ५३ हजार राजस्व सङ्कलन गरेको छ।