काठमाडौँमा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन हुने भयो

Share:

काठमाडौं । आगामी राष्ट्रिय महाधिवेशन नेकपा एकीकृत समाजवादीले काठमाडौँमा गर्ने भएको छ । आउँदो माघ १४ गतेदेखि १८ गतेसम्म गर्ने भनिएको महाधिवेशनको स्थान भनेचाहिं अहिलेसम्म टुङ्गो गरिएको छैन ।

सबै जनवर्गीय सङ्गठनको अधिवेशन सम्पन्न हुन नसकेका कारण आगामी मङ्सिरको दोस्रो सातामा अधिवेशन सम्पन्न गर्ने निर्णय भएकाले महाधिवेशन प्रतिनिधि छनौटका मापदण्ड सम्बन्धी कार्यविधि तर्जुमा गर्न लागिएको छ ।

महासचिव घनश्याम भुसालले पछिल्लो केन्द्रीय कार्यसमितिको बैठकको सुझावअनुसार अधिकांश युवालाई पार्टीमा आकर्षित गर्न केन्द्रीय कार्यसमितिमा उनीहरूको सहभागिता बढाउने, अल्पसङ्ख्यक, दलित, सीमान्तकृत र पिछडिएका समुदायको प्रतिनिधित्वलाई समावेशी गराउने तथा वैचारिक दृष्टिकोणलाई परिमार्जन गर्ने गरी विधान संशोधनका लागि गृहकार्य भइरहेको जानकारी दिए ।

पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण र जनताको बहुदलीय जनवादको सान्दर्भिकताबारे छलफल गर्ने सो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
महाधिवेशन लगत्तै युवालक्षित कार्यक्रम सञ्चालन गर्ने पनि पार्टीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्