मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटेमा अवस्थित चेकपोष्टबाट प्रतिबन्धित औषधी, कपडा र ट्रकसहित गएराति एक जना पक्राउ परेका छन् ।
उपमहानगरपालिका अन्तर्गत पर्ने हेटौंडा औद्योगिक क्षेत्रस्थित सशस्त्र प्रहरी बलको १४ नम्बर गणले करिब १४ लाख ५० हजार रुपैया बराबरको अवैध कपडा, ७ कार्टुन (१ लाख ३१ हजार ७ सय ६० थान ट्यावलेट) प्रतिबन्धित औषधी ट्रामाडोल, म्याद सकिएको मल्टी भिटामिन र ट्रकसहित ट्रक चालक काभ्रे देउपुर नगरपालिकाका–९, मन्डनका ५० वर्षीय ज्ञानेन्द्र कुमार सापकोटालाई पक्राउ गरेको हो ।
घटनाको विवरण दिदै सशस्त्र प्रहरी बल मकवानपुर १४ नम्बर गणका प्रहरी उपरीक्षक (एसपी) अनिल कार्कीका अनुसार, गएराति वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २६५६ नम्बरको मालबाहक कन्टेनर ट्रक रोकी चेकजाँच गर्दा उक्त परिमाणको अवैध प्रतिबन्धित औषधी बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको खबर बागमती खबरले लेखेको छ ।