
भ्रष्टाचारमा दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई जरिवाना मात्र गर्ने सजाय सुनाइएको छ । मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका गुरुङ दुई साताअघि भृकुटीमन्डपस्थित फनपार्कको ठेक्कापट्टामा भएको भष्ट्रचारमा उनी दोषी ठहर भएका थिए ।
गुरुङलाई एक करोड २१ लाख ८४ हजार ४ सय १ रुपैयाँ ८० पैसा जरिवाना र सो बराबरको बिगो भराउने सजाय भएको विशेष अदालतका प्रवक्ता नारदप्रसाद भट्टराईले जानकारी दिए । विशेष अदालतले बिहीबार सजाय निर्धारण गरेको हो ।
भट्टराईका अनुसार ७ जनालाई कैद र जरिवाना तथा दुईजनालाई जरिवानामात्र भएको छ । कैद सजाय नभएका रविन्द्र गुरुङलाई २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना र सो बराबरको बिगो भराउने फैसला भएको विषेश अदालतले जनाएको छ ।
नेकपा एमालेका नेतासमेत रहेका बद्री न्यौपानेलाई साढे ९ वर्ष जेल सजाय भएको छ । अख्तियारले १४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा गुरुङसहित ९ जना दाेषी देखिएका थिए ।