
नेपाली सेनाको कोर्ट मार्सल (सैनिक अदालत)ले उपरथी प्रेम शाहीलाई सेवाबाट निष्कासन गरेको छ । उपरथी शाहीले आर्थिक अनियमितता गरेको पुष्टि भएपछि बिहीबार उनलाई सेवाबाट निष्कासन गरिएको सेनाका प्रवक्ता कृष्ण भण्डारीले जानकारी दिए ।
यस्तै शाहीसँग जोडिएका थप दुई सैनिक अधिकृतहरू प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई पनि सैनिक ऐनअनुसार आन्तरिक कारबाही गरेको प्रवक्ता भण्डारीले बताए । झन्डै दुई महिनाको अनुसन्धानपछि शाहीविरुद्धको फैसला सुनाइएको हो ।
उपरथी शाहीमाथि आर्थिक अनियमितताको उजुरी परेपछि सैनिक मुख्यालयले उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गरेको थियो । उक्त कोर्ट अफ इन्क्वायरीले छानबिन गर्दा थप दुई सैनिक अधिकृतहरू पनि जोडिन आएपछि सेनाले थप अनुसन्धानका लागि दुवैलाई बोलाइएको थियो ।
उपरथी शाहीको कोर्ट अफ इन्क्वायरीपछि गत शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक अदालतअन्तर्गत रहेर अर्का उपरथी ताराध्वज पाण्डेको नेतृत्वमा कोर्ट मार्सल गठन गरेका थिए । उक्त कोर्ट मार्सलले कोर्ट अफ इन्क्वायरीले छानबिन गरेको प्रमाणका आधारमा निर्णय गरेको हो ।
कति रकम कहाँ–कहाँ अनियमितता गरेको भन्ने फैसलाको पूर्णपाठ भने आउन बाँकी रहेको प्रवक्ता भण्डारीले बताए ।








