
सुर्खेत। शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था समस्यामा परेको छ । बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि उक्त सहकारी समस्यामा परेको हो । यस सहकारी संस्थाले बचतकर्ताको विश्वास गुमाउँदै गएपछि सहकारी संस्थाको सुर्खेत शाखाबाट आफ्नो रकम फिर्ता माग्ने बचतकर्ताको सङ्ख्या ह्वात्तै बढेको हो। तर बचतकर्ताले रकम फिर्ता मागेको भए पनि हालसम्म पनि पाएका छैनन् ।
बचतकर्ता नविता शाहीले भने, “दुई हजारको चेक साट्न माघ १८ गते आएको थिएँ । पैसा छैन २३ गते आउनु भनेर पठाउनुभयो । २३ गते आउँदा भोलि आउनु भन्नुभयो । आज (२५ गते) आएको चेक साट्ने ठाउँ बन्द छ । मुद्दा प-यो भन्नुहुन्। ”
वीरेन्द्रनगर–४ का स्थानीय सावित्री परियारले पनि चेक साट्न तीन पटक धाउँदासमेत नगद रुपियाँ नपाएको गुनासो गरे। उनका अनुसार उक्त सहकारीमा बाल बचत र मुद्दती खातामा एक लाख १२ हजार रुपियाँभन्दा बढी रकम जम्मा गरेका छन । “छोराछोरीको नाममा बाल बचत खातामा पैसा जम्मा गरेको थिएँ । अहिले बचत रकम फिर्ता माग्दा दिनुभएको छैन,” उनले भने ।
करिब सात हजार बचतकर्ता रहेको यो सहकारीको सुर्खेत शाखामा बचत फिर्ता माग्न आउनेको सङ्ख्या दैनिक दुई/तीन सय जना रहेका छन् । सो सहकारी संस्थाको लेखा शाखा प्रमुख छवि डाँगीले सुर्खेतमा यसअघि दैनिक ६० देखि ९० लाख रुपियाँको कारोबार हुने गरेकामा अहिले सबै बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि समस्या आएको बताए । उनले भने, “सहकारीको सञ्चालक समितिको बैठक बसिरहेको छ । केही दिनमा निचोड निस्किएला ।” गोरखापत्रमा छापिएको छ।
उक्त शिवशिखर सहकारीका बुटवल, कोहलपुरलगायतका शाखाबाट बचतकर्ताले पैसा फिर्ता माग्न थालेपछि सुर्खेतमा पनि यो समस्या आएको लेखाप्रमुख डाँगीले बताए ।