
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा नबुझाउने ६६ वटा सहकारीलाई कात्तिक मसान्तभित्र साँवा, ब्याज र हर्जानासहित सम्पूर्ण रकम बुझाउन अनुरोध गरेको छ ।
कोषले सार्वजनिक सूचना निकालेर २०६९ सालमा थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता नभएको भन्दै सम्पूर्ण रकम १५ दिनभित्र बुझाउन अनुरोध गरेको हो । कोषले तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको विवरणसहित रकम असुलीका लागि कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले निकालेको सूचना अनुसार कर्जा नबुझाउनेमा प्रदेश एकका १२, मधेस प्रदेशका ६, बाग्मतीका १४, गण्डकी र लुम्बिनीका ३/३ वटा सहकारी रहेका छन् । त्यस्तै कर्णालीका १६ र सुदूरपश्चिमका १२ वटा सहकारी रहेका कोषले जनाएको छ । रकम बुझाएको तर हिसाब मिलान गर्न बाँकी रहेको भएमा आवश्यक भौचरसहित सचिवालयमा सम्पर्क गर्न पनि कोषले अनुरोध गरेको छ ।








