
काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) आज बिहीबार बाँडफाँट हुने भएको छ। कम्पनीको आईपीओ धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँट हुनेछ।
कम्पनीले गत असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सर्वसाधारणका लागि १०० अंकित दरका कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
जसमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्ता पनि समावेश गरिएको थियो।
कुल कित्तामध्ये ५ प्रतिशतले हुने आउने ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ६ लाख २३ हजार २८९ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन्।
यो आईपीओमा अन्तिम दिन साँझसम्म १३ लाख ९४ हजार ३२६ आवेदकबाट कुल १ करोड ५७ लाख १८ हजार ४७० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो। जुन मागभन्दा २५.२१ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।
जसमा भाग्यमानी ६२ हजार ३३८ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ९ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् । आईपीओमा १३ लाख बढी आवेदकको हात खाली हुने भएको छ।








