राजनीतिक फोहोर पखाल्नकै लागि मैले उम्मेदवारी दिएको हुँ : नयन बास्तोला

193
0
Share:

देशमा चुनावी सरगर्मी बढेको छ । चुनावी चर्चा शहरदेखि गाउँसम्म छ । विभिन्न पार्टीले आफ्नो उम्मेदवारको टुंगो लगाइसकेका छन् । कोही गठबन्धन जिताउने अभियानमा छन् भने कोही आफ्नो पार्टीलाई पहिलो पार्टी बनाउने दाउमा । जे होस् देश चुनावमय बनेको छ ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहमा पहिलो बनेको कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी गठबन्धनकै रुपमा चुनावी मैदानमा उत्रिएका छन् । नेकपा एमालेले पनि जनता समाजवादी पार्टी, राप्रपा र राप्रपा नेपाललगायतसँग चुनावी तालमेल गरेर अगाडि बढेको छ ।

ठूलादेखि साना दलहरु विभिन्न एजेन्डासहित चुनावी मैदानमा होमिँदै गर्दा स्वतन्त्र उम्मेदवारहरु पनि आफ्नो एजेन्डा बोकेर मैदानमा उत्रिएका छन् । जसमा व्यापारी, डाक्टर, कलाकार, पत्रकार र सेयर लगानीकर्तासमेत छन् ।

यी नै मध्येका एक हुन्–नयन बास्तोला । व्यवसायी तथा सेयर लगानीकर्ता बास्तोलाले प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । भक्तपुर–१ (क) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका उनले सेयर बजारमा भएको विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउँदै आएका छन् ।

एजेन्डा के–के छन् ? बास्तोलाको उम्मेदवारी के–का लागि ? जिते भने जनताका लागि के गर्छन् ? लगायत विषयमा केन्द्रित रहेर अर्थसञ्जालले गरेको कुराकानीको सम्पादित अंश :

भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (क) बाट तपाईँले उम्मेदवारी दर्ता गराइसक्नुभएको छ ? तपाईको उम्मेदवारी किन ?

म यही क्षेत्रको बासिन्दा हुँ । यही क्षेत्रको भोटर पनि हुँ । त्यसैले मैले आफ्नै क्षेत्रलाई विकास र सुधार गरौँ भनेर मैले यो क्षेत्रबाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएको हुँ ।

तपाईँका चुनावी एजेन्डा के–के छन् ?

चुनावी एजेन्डाहरु भन्दा पनि महत्वपूर्ण कुरा के हो भन्दा हामी किन आउनुपर्यो भन्ने कुरालाई जोड्छु । किनभने राजनीतिक वितृष्णा भएको बेलामा, राजनीतिक व्यक्ति र त्यसमा लाग्ने कार्यकर्ताहरुको व्यवहारले गर्दा आम जनतामा एउटा वितृष्णा छाइरहेको छ । त्यो वितृष्णाको संकेत स्थानीय तहको निर्वाचनले गरेको छ । राजनीतिलाई सेवा बनाउनुपर्ने ठाउँमा पेसा बनाइयो र यो देशलाई आर्थिक सामाजिक, भूराजनीतिक रुपमा तहसनहस पार्ने अवस्था देखिसक्यो ।

राजनीतिक दलहरुको जसरी पनि आफू पदमा बस्न पाउनुपर्छ भन्ने मानसिकताले गर्दा नेपाली जनताहरुमा आक्रोस उत्पन्न भएको छ । त्यो आक्रोसको सुरुवात स्थानीय तह निर्वाचनमा देखियो । त्यसलाई चिर्नका निम्ति नै मेरो उम्मेदवारी हो । राजनीति भन्दा पनि जनताको सेवामा लाग्न मैले उम्मेदवारी दिएको हुँ ।

यसका साथै मेरा एजेन्डाहरुमा प्रवेश गर्छु । अहिले राजनीति फेलर हुनुको कारण नै पूरा हुन नसक्ने एजेन्डा पस्किनु हो । जनताको भोट क्याप्चर गर्न एजेन्डा दिने र ती एजेण्डा पूरा गर्न नसक्ने परिपाटीले गर्दा खेरि नै हामी चुनावी मैदानमा होमिनुपर्ने अवस्था आयो । एजेन्डा त हामीसँग धेरै छन् । तर जुन एजेण्डा हामी जनतासमक्ष प्रतिबद्धता जनाउँछौँ ती एजेन्डा भनेको जनताको एजेन्डा हुनुपर्छ र जनताबीचमा छलफल गरेर कुन कुराहरु आवश्यकता हो भन्ने हिसाबबाट अगाडि बढ्छौँ । योजनाको छनोट गर्ने अधिकार जनतालाई नै दिन्छौँ ।

जनताले नै योजना छनोट गरिसकेपछि कुन योजनालाई कार्यन्वयन गर्ने पक्षमा लाने भन्ने कुरालाई हामीले समर्थन गर्नेछौँ । हाम्रो एजेन्डाहरु भोलि गएर यस क्षेत्रको विकास र विस्तारको रुपमा अघि बढाउनेछौँ । हामी त्यो क्षेत्रलाई शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी क्षेत्रको विकास गर्नेछौँ । यो क्षेत्र भनेको उर्बर क्षेत्र हो । यी कुरालाई पनि प्रवर्द्धन गर्नुपर्छ । यो क्षेत्रमा पर्यटकीय स्थलहरु छन् । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर छ । पर्यटन क्षेत्रलाई प्रोमोट गरेर वैदेशिक लगानी भित्र्याउन सकिन्छ । त्यसका साथसाथै मेरो एजेण्डा भनेको प्रदेशसभाले मेरो क्षेत्रमा मैले, मेरो पदले के गर्न पाउँछ भन्ने कुराहरु महत्वपूर्ण भयो ।

ती कुराहरुलाई जनतामाझ लगेर समानुपातिक रुपमा श्रेणीकरण गरेर अगाडि बढ्नेछौँ । जनताको माझमा छोटो समयमा म प्रतिनिधि हुन गइरहेको छु । यो छोटो समयमा प्रत्येक जनताको घरमा पुग्न नसकुँला, तर मेरो उम्मेदवारी र निर्वाचनको नतिजापछाडि यदि जनताले मलाई भोट दिएर विजयी गराउनुभयो भने प्रत्येक जनताको ठाउँठाउँ, टोलटोल पुगेर एजेन्डा बनाउनेछु । उहाँहरुको एजेन्डा लिनेछु । त्यसपछि हामी कार्यान्वयनतर्फ लानेछौँ । एजेन्डा यो नै भन्नुभन्दा पनि समस्या के छ ? भन्ने कुरालाई उठान गर्नेछु ।

तपाईको निर्वाचन क्षेत्रमा के–कस्ता समस्याहरु छन् ? समाधानका कार्ययोजना के छन् ?

यहाँको समस्या कमन छन् । मैले देखेको एउटा समस्या के रहेछ भने राजनीतिक पार्टीको नेतृत्व आयो भने त्यो राजनीतिको आस्था राख्नेको घर अथवा जनताको वरिपरी मात्र विकास हुने तर त्यसको विपक्षमा भोट हाल्नेकोमा फेरि विकास नहुने त्यो परिपाटी रहेछ । त्यो परिपाटीलाई चिर्दै हामी समानुपातिक रुपमा भोट हाल्ने र नहाल्ने सबैलाई समान रुपमा विकासको मूलधारमा ल्याउनेछौँ । जनताको जीवनस्तरदेखि आर्थिकस्तरलाई उकास्ने प्रयत्न गर्नेछौँ ।

तपार्इँ एउटा सेयर लगानीकर्ता । लगानीकर्ताको हकहितका लागि आफ्नो आवाज पनि बुलन्द पार्दै आउनुभएको छ । तपाई निर्वाचित भइसकेपछी लगानीकर्ताका लागि के–कस्ता कदम चाल्नुहुन्छ ?

मैले लगानीकर्ताको हकहितको लागि विभिन्न किसिमको संघर्ष गर्दै आइरहेको छु । म सेयर बजारको लगानीकर्ता र अभियन्ता पनि हुँ । लगानीकर्ताको लागि आवाज उठाउँदा मा जेल पनि परेको थिए । जेल पर्दाखेरि मैले के कुरा भोगे भन्दाखेरि यो देशमा नीतिनियम बनाइन्छन् । ती नीति नियममा लुपहोल राखिन्छ । त्यो नीतिनियममा चाहिँ राजनीतिक पार्टीहरुले र राजनीतिक व्यक्तिहरुले नराम्रो कानुन बनायो भने त्यो कानुनले आफैँलाई हित गर्छ भन्ने हिसाबले लुपहोल राखेर निर्माण गर्छन् ।
उदाहरणका लागि कुनैपनि काम सिण्डिकेट तोडिनुपर्छ भनेर तल्लो तहबाट माथिल्लो तहमा पनि पुग्यो भने हामीसँग हुन्छ भन्ने तर ती कानुनहरु बन्दाखेरि नियम विनियमावली र कार्यविधि बन्दाखेरी सीमित स्वार्थ पूर्ति हुनेगरी बिग्रेर आउने अवस्था छ । यस्तो देखिसकेपछि अब हामीले रोडबाट अनुनयविनय गरेर मात्र कुनै पनि ऐन, नियम, कानुनको व्यवस्था परिवर्तन गर्न सकिदैन भन्ने हिसाबबाट नै मा एउटा प्रतिनिधि भएर प्रदेशसभामा उम्मेदवारी दिँदैछु ।

मैले त्यो ठाउँमा गइसकेपछि सेयर बजार विकास विस्तार र सुधारको लागि जे गर्नुपर्ने हो मैले गर्नसक्ने कामका लागि प्रतिनिधित्व गर्छु । सेयर बजार भनेको के हो ? यसलाई व्यापार व्यवसायको रुपमा अगाडि बढाउने, एउटा व्यापारको रुपमा सरकारबाट प्रमाणित गराउने साथै सानादेखि ठूला व्यक्तिले लगानी गर्नसक्ने व्यवस्थाको सिर्जना गर्न नीति नियम र प्रविधिका पूर्वाधारहरु खडा गर्नको लागि निरन्तर लागि पर्नेछु । सेयर बजारका साथसाथै आफ्नो निर्वाचन क्षेत्रका लागि गर्नेछु ।

जित्छु भन्नेमा विश्वस्त हुनुहुन्छ ?

जित्छु भन्ने आभास भएर नै म निर्वाचनमा उत्रिँदैछु । छोटो समय भयो । त्यसैले मेरो चुनावको तयारी मेरो कम नै होला । तर जुनदिन देखि घोषणा गरे र मनोनयन दर्ता गराए त्यसपछि तयारी तीव्र छ । मनोनयन दर्ता गर्नुभन्दा अगाडिको घरदैलो कार्यक्रम र भेटघाटले मेरो हौसला बढेपछी नै मैले मनोनयन दर्ता गराएको हुँ । म कसैलाई अभाव प्रभाव र दवाब दिनेछैन ।
म मेरो क्षमता र योग्यताले भरपुर प्रयास गर्नेछु । म एकदम सरल तरिकाले न्यूनतम खर्च प्रयोग गरेर कोसिस गर्नेछु । अरु पार्टीले जसरी अभाव र दबाब नदेखाई लड्नेछु । आशा छ मेरा मतदाताले मलाई आफ्नो गोप्य मतदान दिएर स्वतन्त्रबाट विकासको सुरुवात गर्नुहुनेछ भन्ने मलाई विश्वास लागेको छ । चुनावमा जित हासिल गर्नेछु भन्ने पूर्ण विश्वासका साथ अगाडि बढेको छु ।

तपाईँले सुरुमा प्रतिनिधिसभा चुनाव लड्छु भनेर घोषणा गर्नुभएको थियो । पछि फेरि किन प्रदेशमा झर्नुभयो ?
मैले सुरुमा भक्तपुर प्रतिनिधिसभा १ बाटै निर्वाचनमा होमिने घोषणा गरेको थिएँ । पछि साथीभाइको सल्लाहसुझाव अनुसार म पहिला आफ्नो निर्वाचन क्षेत्र र आफू बसोबास गर्ने क्षेत्रलाई विकासको दायरामा ल्याइसकेपछी मात्रै केन्द्रमा गएर काम गर्न सजिलो हुन्छ भन्ने सरसल्लाह र यहाँका मतदाताहरुको सुझावले गर्दा मैले प्रदेशसभामा उम्मेदवारी दिएको हुँ ।

बालेन्द्र साह र हर्क साम्पाङको सिको गर्दै स्वतन्त्रको नाममा उम्मेदवारी दिनेहरु धेरै भए भन्ने खालका आरोपहरु पनि सुनिन्छ । यसलाई कसरी लिनुहुन्छ ?

यो देशमा राजनीतिक खेल फोहोरी भइसकेको छ । यो अस्वाभाविक म ठान्दिन । तर कुनै पनि कुराको सुरुवात राम्रो कामबाट हुन्छ । जुन कामको सुरुवात उहाँहरुले गर्दिनुभयो । उहाँहरुले सफलता हासिल गरिसकेपछि म पनि सफल हुन्छु भन्नु गलत हो । तर उहाँहरु स्वतन्त्ररुपमा अगाडि बढ्नुभयो ए स्वतन्त्र रुपले पनि काम गर्न सकिने रहेछ आधारमा हामी यहाँ आएका हौँ । स्वतन्त्ररुपमा त पार्टीले कारबाही गरेका र टिकट नदिएका पनि आएका छन् । जुन आरोपहरु लागेका छन् त्यसलाई केही हदमा स्वीकार गरौँला तर सत्यता चाहिँ छैन । किनभने म यदि सक्षम छैन, ममा केही कमजोरी छ भने म बालेनजीको नाममा, लौरोको नाममा चुनाव लड्ने आँट गर्दिन नि । राजनीतिक फोहोर पखाल्नकै लागि मैले उम्मेदवारी दिएको हुँ ।

अन्त्यमा, भक्तपुर क्षेत्र नम्बर १ (क) का मतदाताहरुलाई के अपिल गर्नुहुन्छ ?

सर्वप्रथम उहाँहरुमा मेरो नमस्कार छ । भक्तपुर क्षेत्र नम्बर १ (क) को मेरो उम्मेदवारी मैले दर्ता गरिसकेको अवस्था छ । अब मैले भक्तपुर निर्वाचन क्षेत्र १ प्रदेशसभा (क) मा बस्ने आदरणीय आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुले स्वतन्त्र रुपमा, अवस्थालाई हेरेर गोप्य मतदान सदुपयोग गर्नुपर्ने अवस्था छ । त्यो अवस्था उहाँहरुले थाहा पाइसक्नुभएको छ ।

त्यसको लागि हामीले नेतृत्व गरेका छौँ । नेतृत्वकर्तालाई हौसला बढाउने गरी र नेतृत्वलाई एकचोटी गोप्य मतदान गरेर विजय गराउनुहोस् । र तपाईँहरुले चाहेको तपाईँहरुको आवश्यकता तपाईँहरुसँगै बसेर पूरा गर्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । त्यसका साथसाथै म स्वतन्त्र व्यक्ति हुँ । मेरो कुनै संगठन हुँदैन । त्यसकारण तपार्इँहरुले मलाई चुनावी अभियानमा सघाईदिनुहुन्छ भन्ने आशा पनि गरेको छु । धन्यवाद !

कमेन्ट गर्नुहोस्