उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात, जोखिमलाई ख्याल गर्दै हेलिकप्टर तयारी अवस्थामा

Share:

उत्तरी गोरखामा हिमपात शुरू भएको छ । लगातारको वर्षाले चिसो बढेसँगै चुमनुब्री गाउँपालिकाको सामागाउँ लगायतका क्षेत्रमा हिमपात शुरू भएको हो ।

असोज महिनाको तेस्रो हप्ता शुरू भएसँगै यो वर्ष पहिलो पटक उत्तरी गोरखामा हिमपात भएको हो ।

हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले बताए ।

‘सामागाउँमा आज अपराह्नपछि हिमपात शुरू भएको हो,’ उनले भने, ‘हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।’

हिमपातका कारण मनास्लु हिमाल आरोही र आरोहीका सहयोगीलाई समस्या पर्नसक्ने भन्दै सामागाउँमा अहिले ३ वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको उनले बताए ।

‘मनास्लु हिमालको आरोहणमा रहेका आरोहीलाई कुनै पनि बेला समस्या पर्नसक्ने सम्भावना छ,’ उनले भने, ‘सम्भावित जोखिमपूर्ण परिस्थितिलाई ध्यानमा राखेर हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको छ ।’

सामागाउँमा कैलाश, सिम्रिक र एभरेस्ट एयरका १/१ वटा हेलिकप्टर तयारी अवस्थामा राखिएका उनको भनाइ छ । यो वर्ष अहिलेसम्मकै अत्यधिक पर्यटक मनास्लु हिमाल आधार शिविरमा पुगेका छन् ।

गोरखा प्रहरीका अनुसार हिजोसम्म ३६६ जना हिमालको आधार शिविरमा नै रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन मौसममा परिवर्तन हुने भन्दै उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने तथा हिमाल आरोहणका लागि पुगेकालाई सतर्कता अपनाउन भनेको छ ।

कमेन्ट गर्नुहोस्