चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनाको अवधिमा विदेशबाट नेपालमा एक करोडभन्दा बढीको तास आयत गरिएको छ ।
विभागका अनुसार दुई महिनामा विदेशबाट नेपालमा कुल एक करोड तीन लाख ३२ हजार बराबरको ६ लाख ७८ हजार २४४ पिस तास आयात भएको हो । तासको आयातबाट नेपालले दुई महिनामा ७४ लाख ६६ हजार राजश्व संकलन गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा गरी एक करोडभन्दा बढी मूल्यको तास आयात भएको हो ।
दुई महिनाको अवधिमा आयात गरिएको सबै तासहरू चिनबाट आयात गरिएका हुन् । देशमा विदेशी मुद्राको सञ्चिती घट्दै गएपछि सरकारले ताससहित अन्य विभिन्न १० वटा वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, गत भदौ १४ गते ताससहित प्रतिबन्ध लगाइएका कुरकुरे, कुरमुरे, लेज, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, तास, खेलौना र ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजनको आयात बन्देज खुल्ला गरिएको थियो ।
दसैँ र लक्ष्मीपूजामा खासगरी रमाइलो गर्नको लागि पनि नेपालीहरूले तास खेल्ने गरेका छन् । गत आर्थिक वर्ष २०७८र७९ को साउन भदौ गरी दुई महिनाको अवधिमा भने नेपालमा पाँच करोड ५१ लाख ३१ हजार बराबरको तासहरु भारत, अमेरिका र चीनबाट आयात गरिएको थियो । सो अवधिमा तास आयातमा भने प्रतिबन्ध लगाइएको थिएन ।