दशैंका लागि ५६ अर्ब रुपैयाँ बजारमा गएको छ । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत साना र ठूला दरका उक्त परिमाणको नोट बजारमा पठाएको हो ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार यो दशैंमा ५ देखि १०० सम्मका साना दरका नयाँ नोट मात्रै १६ अर्ब रुपैयाँ साटिएको छ । साना दरका नोट गत वर्षको तुलनामा बढी साटिएको हो । गत वर्षको तुलनामा यो वर्ष साटिएको नयाँ नोट करीब २ अर्ब रुपैयाँले बढी बजारमा गएको नेपाल राष्ट्र बैंकले बताए ।
नयाँ नोट बजारमा गएसँगै ५ सय र १ हजार दरका नोट पनि बजारमा गएका छन् । नेपालका अनुसार यो वर्ष दशैंलाई ४० अर्ब रुपैयाँका ठूला दरका नोट बजारमा पठाइएको छ । चलनचल्तीमा भएका पुराना नोट बजारबाट आउने र राष्ट्र बैंकमा भएका नयाँ नोट बजारमा जाने गरेको छ ।
ठूला दरका नोट नयाँ र पुराना दुवै गएका छन् भने साना दरका भने नयाँ मात्रै बजारमा गएको पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो तीन वर्षमा बजारमा गएको नोटमा सबैभन्दा बढी १ हजार दरकै रहेको छ । १ हजार दरका २३ करोड ५२ लाख थान नोट बजारमा जाँदा साना दरका ५ को भने २२ करोड ७१ लाख रहेको छ ।
बजार गएका नोट पुरानो हुने, थोत्रिने गरेका कारण बर्सेनि राष्ट्र बैंकले झुत्रा नोट जलाउने गरेको छ । पछिल्लो एक वर्षमा राष्ट्र बैंकले बजारमा बैंककै तथा वित्तीय संस्था हुँदै राष्ट्र बैंक आएका ६ अर्ब २९ करोड रुपैयाँ बराबरको नोट जलाएको छ ।