
सरकारले केराउ, सुपारी र मरिच आयातमा लागेको प्रतिबन्ध आंशिक रूपमा हटाएको छ । अब यी वस्तु औद्योगिक कच्चा पदार्थको रूपमा आयात गर्न पाउने बाटो खुला भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, केराउ, सुपारी र कालो मरिचको फैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि, २०७८ को प्रक्रिया पूरा गरेर चालू आर्थिक वर्षका लागि मात्र कच्चा पदार्थको रूपमा फैठारी गर्न पाइनेछ ।
तेस्रो मुलुकबाट सुपारी, केराउ र कालो मरिच आयात गरेर भारतमा तस्करी गर्ने गरेको तथा तस्करीमा संलग्न व्यक्तिबाट राजनीतिक नेतृत्वले समेत लाभ लिने गरेको आरोपका बीच ०७६ चैत २४ गते मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर सुपारी, मरिच र केराउको आयातमा प्रतिबन्ध लगाएको थियो ।
तर, उद्योगहरुले औद्योगिक प्रयोजनका लागिसमेत केराउ, सुपारी र मरिच आयात गर्न नपाएपछि आयात खुला गरेको हो । तर व्यापारिक हिसाबले भने यी वस्तु आयात गर्न पाइने छैन ।
‘नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम वस्तु पैठारीमा बन्देज लगाई खण्ड ६९, संख्या ५२, २०७६ चैत २४ को नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशन गरेकोमा सोही दफाको उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८’ को प्रक्रिया पूरा गरी आयात खुला गरेको छ,’ सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना उल्लेख छ ।

arthasanjal.com/wp-content/uploads/2022/09/Supari-768×479.jpg 768w, 






