सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घट्ने भएको छ । यातायात व्यवस्था विभागले आजदेखि नै लागू हुने गरी सार्वजनिक सवारी साधनको नयाँ भाडादर कायम गरेर सार्वजनिक गर्ने तयारी गरेको हो । शनिबार पेट्रोलियम पदार्थको मूल्य घटाएकाले विभागले आजमात्र समायोजनबारे निर्णय गर्न लागेको हो ।
आज विभागको कार्यालय समय खुल्ने बित्तिकै अन्तर प्रदेशमा चल्ने सवारीको नयाँ भाडादर सार्वजनिक गरिने बताइएको छ । विभागका अनुसार काठमाडौं उपत्यकाको भाडादर समायोजनको जिम्मा प्रदेश यातायात कार्यालयको रहेको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसी पेट्रोलियम पद्धार्थको मुल्यमा भारी कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो । त्यस लगत्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पत्रकार सम्मेलन गरेर पेट्रोलियम पद्धार्थको मुल्य घटाएको घोषणा गरेका थिए । सरकारले शनिबार गएराति १२ बजेदेखि लागू पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ ।
पेट्रोलियम पदार्थको मुल्य घटेसँगै सार्वजनिक यातायातको पनि भाडा घटाउने तयारी भएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।
यसअघि असारको पहिलो हप्ता पेट्रोल र डिजेल तथा मट्टितेलमा भारी मात्रामा मूल्यवृद्धि भएपछि विभागले असार ६ गते सवारी साधनको भाडा वृद्धि गरेको थियो ।