
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको चयनका लागि आज हुने निर्वाचनमा दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश सभापति इन्द्र बहादुर बानियाँ र वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार बानियाँले लामाविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव कांग्रेस संसदीय दलको बैठकमा बहुमतले पारित भएको थियो । ३७ जना सांसदमध्ये २२ जना बानियाँ पक्षमा र १५ जना लामा पक्षमा देखिएका थिए ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गर्ने समय बिहान ११ बजेसम्म थियो । उम्मेदवारको प्रारम्भिक नामावली ११:३० बजे प्रकाशित हुने र नाम फिर्ता गर्ने समय दिउँसो १२ बजेसम्म तोकिएको छ ।
निर्वाचन समितिका अनुसार अन्तिम उम्मेदवारको नामावली दिउँसो १ बजे सार्वजनिक हुनेछ भने मतदान प्रक्रिया २ बजेदेखि ३ बजेसम्म चल्नेछ ।