दूध बेचेर वार्षिक २० लाख कमाइ

25
0
Share:

काठमान्डौ/बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका ४१ वर्षीय सुरेश कँडेल १० वर्ष अगाडि लन्डन पुग्नुभयो । रोजगारीका लागि विदेशमा राम्रो कमाइ हुने आशाले लण्डन पुगेका कँडेल पाँच वर्षपछि स्वदेश फर्किए ।

 

विदेशको दुःख देखेपछि स्वदेश फर्किएका काठमाडौँमा पाँच वर्ष होटल व्यवसाय गरे । होटल व्यवसाय राम्रो भए पनि दशक होटल व्यवसाय गरेका सुरेश अन्तत विसं २०७७ मा गाउँ फर्के । गाउँ फर्कने समयमा देशभर कोरोना सङ्क्रमणको फैलिँदो थियो । कोरोना सङ्क्रमणका कारण गाउँमा पनि अन्य काम गर्ने वातावरण थिएन । कँडेलका घरमा बाबाआमाले पहिलेदेखि नै सामान्य रुपमा दूध बिक्री गर्दै आउनुभएको थियो । गाउँपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई भैँसी अनुदान दियो ।

 

अनुदानमा पाएको भैँसीले सुरेशलाई दूध उत्पादनमा लाग्ने हौसला दियो । थप दुई वटा भैँसी लिएर व्यावसायिक रुपमै दूध उत्पादन गर्ने निधो गरे । अहिले जिल्लामै दुग्ध उत्पादन गर्ने अब्बल किसानका रुपमा परिचित सुरेशको भैँसीपालन व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रो हुँदै गएको छ । लन्डनमा नमिलेको खुसी भैँसी पालेर मिलेको छ । भैँसी पाल्न थालेपछि वरपरका अन्य किसानले पनि व्यावसायिक रुपमा दूध उत्पादनमा लागेका छन् ।

 

कँडेललाई अहिले घरपरिवारको पनि दरिदो साथ छ । चार वर्ष अगाडि फार्म दर्ता गरेका कँडेलले वार्षिक १५ हजार लिटर दूध बिक्री गर्दै आएको छ । दुई लाखबाट सुरु गरेको व्यवसायमा हालसम्म २५ लाख बढी लगानी गरिसकेको छ । उहाँको फार्ममा हाल सात उन्नत जातका भैँसी छन् । बागलुङ बजार नजिक रहेको हुँदा दूध खपत राम्रो छ । कँडेलले वार्षिक २० लाखको दूध बिक्री गर्दै आएको छ ।

 

“विदेशमा गएपछि सजिलै कमाइ हुन्छ भन्ने सोचेको थिएँ, त्यहाँ गएपछि दुःख त्यहाँको कामलाई हेरेर म आफ्नै ठाउँमा फर्किन्छु भनेर फर्किएँ, केही वर्ष होटल व्यवसाय गरे, त्यहाँ राम्रै भएको थियो, मलाई सहर बजारभन्दा गाउँनै ठिक लाग्यो र यहाँ आएँ”, कँडेलले भने, “अहिले मलाई गाउँ फर्किएकोमा कुनै पश्चाताप छैन, मैले जे गरे ठिक गरेँ जस्तो लाग्छ, मैले दुई वटा भैँसीबाट परीक्षणका लागि दूध उत्पादनमा लागेको थिएँ, अहिले मलाई लन्डनभन्दा भैँसीगोठमा सन्तुष्टि मिलेको छ ।”

 

कँडेलले गाउँमा सहर बजारभन्दा केही दुःख भए पनि सम्भावना धेरै रहेको बताए । भैँसी पालेर दूध बिक्रीबाट आफ्नो परिवार राम्रोसँग चलेको कँडेल बताए ।

कमेन्ट गर्नुहोस्