
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।
उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो । उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी-२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।
फैसलाअघि न्यायाधीशले होटलको सीसीटीभी फुटेज हेरेका थिए। सन्दीप र गौशाला २६ होटलभित्र पसेको र होटलबाट बाहिरिएको फुटेज न्यायाधीसद्वयले हेरेपछि फैसला आएकाे हाे । यसअघि जिल्ला अदालतका न्यायाधीशले पनि बहस सकिएपछि फैसलाभन्दा ठीक अघि सीसीटीभी फुटेज हेरेका थिए ।
मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो । मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो । बुधबार सन्दीपका कानुन व्यवसायीले जवाफ दिएलगत्तै बहस सकिएको हो । आज सबैभन्दा पछाडि सन्दीप लामिछानेको तर्फबाट सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गरेका थिए ।
हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज ११ बजेबाट बहस सुरू भएकाे थियाे । दुवै पक्षलाई डेढ घन्टा समय दिइएको थियो । त्यसअनुसार गौशाला २६ का वकिलहरूले खाजा समय अगाडि बहस गरेका थिए ।
३ वर्षदेखि मुद्दा अदालतमा
तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो भने असोज २० मा त्रिभुवन विमानस्थलबाट उनी पक्राउ परेका थिए ।
आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख थियो । सोही जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।
यस्तै भदौ २३ मा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो ।
लामिछाने विरुद्धको मुद्दा के हो ?
लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै गत वर्ष भदौ २१ गते काठमाडाैंकाे गौशाला प्रहरी कार्यालयमा ‘१७ वर्षकी’ किशोरीले उजुरी दिएकी थिइन्।
नेपालमा उजुरी दर्ता हुँदा लामिछाने क्यारिबीअन लीग खेल्न जमैका पुगेका थिए।
केही समयपछि मात्रै नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ गरेका थिए।
जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि केही समय नेपाल क्रिकेट सङ्घले राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो।
तर लामिछाने धरौटीमा रिहा भएपछि क्यानले उनलाई राष्ट्रिय टोलीमा फर्कायो र केही समय उनले राष्ट्रिय टोलीबाट खेल खेले।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका लामिछानेलाई गत पुस २८ गते पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा गरिदिएको थियो।
सर्वोच्च अदालतले गत फागुन दोस्रो साता उनलाई सशर्त विदेश जान दिने अनुमति दिएको थियो।
के थियाे जिल्लाकाे फैसला
‘१८ वर्ष उमेर पुगेकी परिवर्तित नाम गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१),(२) र ३(ङ) बमोजिमको कसुर ठहर्छ,’ अदालतको फैसलामा भनिएको थियाे ।
तर, पीडित नाबालिग नभएको पुष्टि भएकाले सोही संहितको २१९ (३) (घ) बमोजिमको कसुर भनेर हुन नसक्ने अदालतले ठहर गरेको छ । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको थियाे । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले गएकाे पुसमा उनीविरुद्ध सजाय निर्धारण गरेका थिए । बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको थियाे ।
गएकाे पुस १३ गते न्यायाधीश ढकालको इजालासले लामिछानेलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । जसअनुसार उनलाई ८ वर्ष कैद सजाय र जरिवानाको फैसला भएको थियाे । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर थियाे ।
लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत गएका थिए ।
जबरजस्ती करणीको कसुरमा दोषी ठहर भएपनि लामिछानेले थुनाबाहिरै रहेर पुनरावेदन गरेका थिए । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार उनले यो सुविधा पाएका थिए।
जबरजस्ती करणीको कसुरमा लामिछाने दोषी ठहर भएपनि जाहेरवाली किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगिसकेको कारण लामिछानेलाई अधिकतम १० वर्ष कैद सजाय हुने र सो बापत हुनसक्ने अधिकतम जरिवाना र कैदवापतको रकम पनि धरौटीमा रहेको कारण उनी थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाएका थिए।